नेमकिपाको ५९ जिल्लाका १२० क्षेत्रमा उम्मेदवारी, महिलालाई विशेष प्राथमिकता
भक्तपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका ५९ जिल्लामा उम्मेदवारी दिएको छ । पार्टीले कुल १२० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको हो ।
नेमकिपाले यसपटकको निर्वाचनमा महिला सहभागितालाई विशेष जोड दिएको छ । पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईका अनुसार कुल १२० उम्मेदवारमध्ये ६७ जना पुरुष र ५३ जना महिला रहेका छन् ।
बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा नेमकिपाले चुनावी प्रतिस्पर्धा गर्दैछ । यहाँका ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाइएको छ । पार्टीका प्रभावशाली नेता एवं केन्द्रीय सचिव प्रेम सुवालले आफ्नो गढ मानिने भक्तपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कर्णाली र सुदूरपश्चिममा पनि सक्रियता
कर्णाली प्रदेशका सात जिल्लाका ९ निर्वाचन क्षेत्रमा नेमकिपाले उम्मेदवारी दिएको छ । जसमा कालिकोटबाट नन्दबहादुर शाही, जुम्लाबाट बिर्खबहादुर राउत, दैलेखबाट बखतबहादुर थापा र सुर्खेतबाट तुलसी खड्का चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिममा बाजुरा बाहेकका ८ जिल्लाका १४ क्षेत्रमा उम्मेदवारी परेको छ ।
अन्य प्रदेशको अवस्था:
कोशी प्रदेश: १२ जिल्लाका २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी (८ महिला, १३ पुरुष) ।
मधेश प्रदेश: ८ जिल्लाका २२ निर्वाचन क्षेत्रमा उम्मेदवारी (६ महिला, १६ पुरुष) ।
लुम्बिनी प्रदेश: १२ मध्ये ७ जिल्लाका १४ क्षेत्रमा उम्मेदवारी (८ महिला, ६ पुरुष) ।
गण्डकी प्रदेश: ५ जिल्लाका ८ निर्वाचन क्षेत्रमा उम्मेदवारी (६ महिला, २ पुरुष) ।
आफ्नो छुट्टै वैचारिक धार र साङ्गठनिक पकड भएको नेमकिपाले यसपटक धेरै जिल्लामा महिला उम्मेदवारहरूलाई अघि सारेर नयाँ सन्देश दिन खोजेको छ । निर्वाचन आयोगले सोमबार मनोनयन दर्ता सम्पन्न गरेसँगै नेमकिपाले ५९ जिल्लामा चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ ।