झापाको चन्द्रगढीमा आजदेखि ‘वृहत महोत्सव’ सुरु : १० करोडको कारोबार हुने अपेक्षा

झापा, ७ माघ । झापाको सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा आज (बुधबार) देखि ‘औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२’ भव्य रूपमा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको यो महोत्सव आगामी माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले आयोजित यस महोत्सवको उद्घाटनसँगै चन्द्रगढीमा चहलपहल निकै बढेको छ ।

महोत्सवमा कृषि, उद्योग र व्यापारसँग सम्बन्धित कुल १३० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीमा स्थानीय कृषि उत्पादन, हस्तकला, अटोमोबाइल, कृषि औजार, जडीबुटी, छालाजन्य सामग्री, गलैँचा, सौर्य ऊर्जा, सूचना प्रविधि र दैनिक उपभोग्य वस्तुहरूकाे स्टल रहनेछन् ।

सेल्फीजोन, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, हास्यव्यङ्ग्य र विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू पनि रहने आयाेजकले जनाएका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईका अनुसार महोत्सव अवधिभर १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन नौ वटा विभिन्न उपसमितिहरू गठन गरी प्रचारप्रसार र सुरक्षाको उचित प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रमहरू समेत आयोजना गरिनेछ, जसले युवाहरूलाई थप आकर्षित गर्ने देखिन्छ ।