हुम्लामा यस वर्षकै पहिलो बाक्लो हिमपात : किसानमा खुसीयाली, नाम्खा–हिल्सा सडक ठप्प

हुम्ला, १० माघ । लामो प्रतीक्षापछि हिमाली जिल्ला हुम्लामा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । गत भदौदेखि वर्षा र हिउँ नपर्दा चिन्तित बनेका हुम्ली किसानहरू लामो खडेरीपछि हिउँ पर्न थालेसँगै उत्साहित भएका छन् ।

जिल्लाको माथिल्लो भेग सिमकोट र नाम्खा लगायतका क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भइरहेको छ भने तल्लो क्षेत्र (अदानचुली लगायत) मा वर्षा भइरहेको छ । सामान्यतया धेरै पानी परेपछि हिमपात हुने यहाँको वातावरणीय विशेषता अनुसार अहिले उच्च हिमाली क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

झण्डै पाँच महिनादेखि पानी नपर्दा भोकमरीको चिन्तामा रहेका किसानका लागि यो हिमपात वरदान सावित भएको छ । हिउँ पर्न थालेपछि जौ, गहुँ र उवा जस्ता हिउँदे बाली सप्रिने आशामा किसानहरू खुसी देखिएका हुन् । स्थानीय किसानका अनुसार यो समयको हिउँले जमिनमा चिस्यान कायम राख्ने र बालीको उत्पादन बढाउन सहयोग पुग्नेछ ।

हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण हुम्लाको जनजीवन भने कष्टकर बनेको छ । मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् भने बजार तथा सरकारी कार्यालयहरूमा चहलपहल घटेको छ ।

बाक्लो हिमपातका कारण नाम्खा गाउँपालिका र सो क्षेत्र हुँदै चीनको सीमाना जोडिएको हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकमा हिउँ जमेका कारण यातायातका साधन चल्न नसकेको र पैदल यात्रा समेत जोखिमपूर्ण बनेको स्थानीय प्रशासनले जनाएको छ ।