हामी देश बनाउने अभियानमा छौँ : अध्यक्ष ओली, भद्रपुर विमानस्थलमा आफूलाई अपमान गरिएको भन्दै आक्रोश
काठमाडौँ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत एमाले ‘देश बनाउने’ महान् अभियानमा होमिएको बताउनुभएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गर्नुभयो।
अध्यक्ष ओलीले देश बनाउने शक्तिको पक्षमा उभिन र एमालेलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल समेत गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले शुक्रबार झापाको भद्रपुर विमानस्थलमा आफूमाथि सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको भन्दै सरकारप्रति कडा आक्रोश व्यक्त गर्नुभयो। झापाबाट काठमाडौँ फर्कने क्रममा सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै आफूलाई दुःख दिएको उहाँको आरोप छ।
“मलाई झापाबाट फर्कँदा अपमानजनक व्यवहार गरियो। विदेशतिर पनि पूर्वप्रधानमन्त्री वा विशिष्ट व्यक्तिलाई चिनेको अवस्थामा सम्मानजनक व्यवहार गरिन्छ, तर यो सरकारले हामीलाई आफ्नै देशमा दुःख दिने र अपमान गर्ने काम गरिरहेको छ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले सरकारको यस्तो व्यवहार नसुध्रिए निर्वाचनको सन्दर्भमा कडा निर्णय लिनुपर्ने चेतावनी समेत दिनुभयो। उहाँले भन्नुभयो, “यस्तै व्यवहार दोहोरिरहने हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने, अझै भन्न सकिने अवस्था छैन।”
सोही कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं प्रतिष्ठित धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाल लगायतका विभिन्न व्यक्तित्वहरू एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै एमालेको राष्ट्रिय अभियानमा सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो।