कालोपत्र गर्न डुम्रे–बेँसीसहर सडक तीन दिनका लागि बन्द

लमजुङ, १२ माघ । लमजुङ र तनहुँ जोड्ने मुख्य राजमार्ग डुम्रे–बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ ।

जिल्लाको बेँसीसहर नगरपालिका–१ उदीपुरस्थित पहिरोग्रस्त क्षेत्रमा सडक कालोपत्र गर्न आज बिहान ११ बजेदेखि आगामी १४ गते साँझ ६ बजेसम्म सवारी आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले भत्किएको सडक मर्मत तथा कालोपत्र गर्न अनुरोध गरेपछि प्रशासनले सूचना जारी गर्दै सडक बन्द गरेको हो ।

सडक बन्द रहेको समयमा यात्रुहरूको सहजताका लागि नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट वैकल्पिक मार्गका रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ । यो सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्ला तथा हिमाली जिल्ला मनाङसम्म सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

विसं २०७८ असार १ र साउन ११ गते आएको बाढीपहिराले उक्त स्थानमा सडक बगाएको थियो । सडक मर्मत तथा संरक्षणका लागि सङ्घीय सरकारबाट विनियोजित रु ११ करोड १९ लाख बजेटमा हाल ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख सतीश सुवेदीले पहिरो रोकथामको कार्य करिब ८५ प्रतिशत सम्पन्न भइसकेको र हाल कालोपत्रको काम भइरहेको जानकारी दिनुभयो ।