गाई काट्न पाउनुपर्ने खगेन्द्र सुनारको अभिव्यक्ति : राप्रपा महामन्त्रीद्वारा रास्वपाको आधिकारिक धारणा माग

काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं गत निर्वाचनमा बाँके क्षेत्र नं. ३ का उम्मेदवार खगेन्द्र सुनारको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

सुनारले ‘गाई काटेर खान पाउनुपर्ने’ भन्दै दिएको अभिव्यक्ति सार्वजनिक भएपछि महामन्त्री पाठकले यस विषयमा रास्वपाको आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।

दलित अभियन्ता समेत भनिने रास्वपा नेता सुनारले हालै सार्वजनिक सञ्चारमाध्यमहरूमा बोल्दै ‘यदि खसी (मटन) खान पाइन्छ भने गाई काटेर खान पनि पाउनुपर्ने’ तर्क गरेका थिए। उनको यो अभिव्यक्ति बाहिरिएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ।

सोही सन्दर्भमा प्रतिक्रिया दिँदै राप्रपा महामन्त्री पाठकले सनातन धर्म र संस्कृतिमाथि प्रहार हुने गरी आएको यस्तो अभिव्यक्तिलाई सामान्य रूपमा लिन नसकिने बताए। उनले यो विषय चुनावको मुखमा विपक्षीले उठाउने रणनीतिक मुद्दा मात्र नभई हिन्दुहरूको आस्थासँग जोडिएको गम्भीर विषय भएको प्रष्ट पारेका छन्।

पाठकले प्रश्न गरेका छन्, ‘सांसदको उम्मेदवार समेत रहेका जिम्मेवार व्यक्तिबाट आएको यस्तो अतिवादी र आपत्तिजनक अभिव्यक्तिबारे सम्बन्धित पार्टी कति संवेदनशील छ ?’
उनले सनातन धर्म, संस्कृति, परम्परा र मान्यताबारे रास्वपाको ‘बटमलाइन’ के हो भन्दै नेतृत्वसँग जवाफ मागेका छन्।

महामन्त्री पाठकले गाई नेपालको राष्ट्रिय जनावर र बहुसंख्यक ॐकार परिवारको आस्थाको केन्द्र रहेको भन्दै यस विषयमा रास्वपाले ढुलमुले चरित्र नदेखाई आफ्नो कित्ता स्पष्ट गर्नुपर्ने चुनौती दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *