पश्चिमी वायुको प्रभावले उच्च भेगमा हिमपात र वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ, १५ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रणालीका कारण आज (बिहीबार, १५ माघ) देशका विभिन्न स्थानमा मौसममा बदली देखिएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका केही र गण्डकी प्रदेशका एक-दुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको प्रक्षेपण गरिएको छ । यी क्षेत्र बाहेक अन्यत्र भने मौसम मुख्यतया सफा रहनेछ ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने क्रम जारी रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही हिमपात र वर्षाको सम्भावना यथावत रहने महाशाखाले जनाएको छ ।

मौसममा आएको यो बदलावले चिसो बढ्ने तथा हिमपात र वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

पर्यटन, स्वास्थ्य क्षेत्रका साथै हवाई तथा सडक यातायातमा समेत मौसमको प्रतिकूल प्रभाव पर्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।