७० वर्षमाथिका ज्येष्ठ नागरिकको घरदैलोमै पुग्दै महानगर : भोलिबाट स्वास्थ्य सर्वेक्षण सुरु

काठमाडौँ,  माघ १७ । काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने ऐतिहासिक योजना कार्यान्वयनमा ल्याएको छ । ‘सहयोगापेक्षी ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत महानगरले भोलि (माघ १८ गते) देखि नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको विस्तृत सर्वेक्षण सुरु गर्दैछ ।

सर्वेक्षणका लागि छनोट भएका नर्सिङ कर्मचारीहरूलाई पाँच दिने विशेष अभिमुखीकरण तालिमपश्चात आवश्यक स्वास्थ्य सामग्री, औषधि र तथ्याङ्क सङ्कलनका लागि ट्याब्लेटसहित कार्यक्षेत्रमा खटाइएको छ ।

‘पदीय दायित्व मात्र होइन, सेवा भावले काम गर्नुस्’ : कार्यवाहक प्रमुख सुनिता डंगोल

सर्वेक्षणमा खटिने स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिँदै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यसलाई केवल जागिरको रूपमा मात्र नलिन आग्रह गर्नुभएको छ । “यो तपाईँहरूको पदीय जिम्मेवारी मात्र होइन, विशुद्ध मानवीय सेवा पनि हो,” उहाँले भन्नुभयो, “कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई ‘हाम्रा लागि पनि महानगर रहेछ’ भन्ने अनुभूति गराउने गरी काम गर्नुहोला ।”

डंगोलले बदलिँदो सामाजिक परिवेशका कारण सन्तान विदेशमा रहेका र घरमा एक्लै भएका आमाबुबाको पीडा सम्बोधन गर्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार महानगरले छिट्टै टेलि-मेडिसिन प्रणालीमार्फत विदेशमा रहेका सन्तानलाई समेत आफ्ना अभिभावकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउँदैछ ।

महानगरले विशेषगरी आर्थिक अवस्था कमजोर भएका, परिवारमा रेखदेख गर्ने सदस्य नभएका, र दीर्घरोगका कारण अस्पतालसम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको छ । घरमै पुग्ने स्वास्थ्यकर्मीले रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जाँच गर्नुका साथै आकस्मिक अवस्थाका लागि औषधि समेत वितरण गर्नेछन् ।

सर्वेक्षणमा खटिने टोलीलाई आधुनिक स्वास्थ्य उपकरण र औषधि, डिजिटल ब्लड प्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर र तथ्याङ्क भर्ने ट्याब्लेट, सिटामोल, आइबुप्रोफेन, ओआरएस, एन्टासिड, एलर्जीको औषधि र ड्रेसिङका लागि आवश्यक ब्यान्डेज तथा एन्टिसेप्टिक सामान छन् ।

महानगरको स्वास्थ्य विभागका प्रमुख दिपक के.सी.का अनुसार संकलित तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका लागि विशेष बजेट र योजना तर्जुमा गरिनेछ । कार्यक्रमले केवल उपचार मात्र नभई पोषण परामर्श, व्यायाम, मानसिक स्वास्थ्य र सरसफाइबारे समेत सचेतना प्रदान गर्ने लक्ष्य राखेको छ ।

अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार यो अभियानलाई प्रभावकारी बनाउन वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग प्रत्यक्ष समन्वय गरिनेछ । भोलिदेखि सुरु हुने यो सर्वेक्षणले काठमाडौँका ज्येष्ठ नागरिकमा स्वास्थ्य सेवाप्रतिको पहुँच र भरोसा बढ्ने अपेक्षा गरिएको छ ।