काठमाडौंबाट उडेको टर्किस एयरको इन्जिनमा आगलागी, बायाँ इन्जिनको भरमा कोलकातामा ‘इमर्जेन्सी ल्यान्डिङ’

काठमाडौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ। बुधबार दिउँसो १:२८ बजे उडेको केही मिनेटमै जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि चालकदलले जहाजलाई भारतको कोलकाता डाइभर्ट गरेका छन्।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार उडान नम्बर ‘टीएचवाई ७२७’ को ‘ए३३०–३०३’ सिरिजको वाइडबडी जहाज उडेको ४ मिनेटमै पाइलटले दायाँ इन्जिनमा आगलागी भएको जानकारी गराएका थिए।

इन्जिनमा आगो लागेको खबर प्राप्त हुनासाथ त्रिभुवन विमानस्थल प्रशासनले १५ मिनेटका लागि उडान र अवतरण पूर्ण रूपमा बन्द गरेको थियो। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीहरूलाई धावनमार्गमा ‘हाइ अलर्ट’ मा राखिएको थियो।

पाइलटले दायाँ इन्जिनमा आगो देखिनासाथ उक्त इन्जिन बन्द गरेका थिए। त्यसपछि आकाशमा करिब १२ मिनेट जहाजलाई ‘होल्ड’ गरी आगो नियन्त्रणमा आएको सुनिश्चित गरेपछि चालकदलले बायाँ इन्जिनको मात्र सहारामा जहाजलाई कोलकाता लैजाने निर्णय गरेका थिए। जहाजमा २ सय २५ यात्रु सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *