बालेनका सल्लाहकारले टिकट पाएपछि असन्तुष्ट रास्वपा नेता डा. श्री कुँवरद्वारा पार्टी परित्याग
काठमाडौँ, २२ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन्।
पार्टीले लोकतान्त्रिक विधि (प्राइमरी इलेक्सन) बाट उम्मेदवार चयन गर्ने प्रतिबद्धता विपरीत केन्द्रबाटै उम्मेदवार लादेको भन्दै उनले पार्टी छाडेका हुन्।
रुपन्देही-१ बाट कुँवरसहित ६ जनाको नाम सिफारिस भएकोमा पार्टीले ‘प्राइमरी इलेक्सन’ नगरी सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो। लम्साल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका पूर्वसल्लाहकार हुन्।
पार्टी परित्याग गर्दै डा. कुँवरले रास्वपाले उम्मेदवार छनोटका नाममा आकांक्षीहरूबाट अवैध रूपमा रकम असुलेको गम्भीर आरोप लगाएका छन्। “प्राइमरी इलेक्सनका नाममा प्रत्यक्षका आकांक्षीबाट २५ हजार र समानुपातिकको नाम राख्ने बहानामा ५० हजार रुपैयाँ लिएर निर्वाचन नै नगराउनु भ्रष्टाचारको नयाँ तरिका हो,” उनले भने।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका कुँवर स्थानीय नेताहरूको आग्रह र पार्टीको नीतिको विश्वासमा परेर निर्वाचन लड्नकै लागि नेपाल आएका थिए। उनले आफू ठूलो खर्च गरेर नेपाल आए पनि पार्टीले धोका दिएको गुनासो गरे। रास्वपाले विदेशमा रहेका नेपालीहरूको भावनामाथि खेलबाड गरेको र उनीहरूको भविष्य बिगार्ने काम गरेको उनको ठहर छ।
पार्टीको राष्ट्रियताप्रतिको दृष्टिकोण स्पष्ट नभएको र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गर्दै सीमित व्यक्तिको स्वार्थमा उम्मेदवार तोकिएको भन्दै उनले अब स्वतन्त्र रहने संकेत गरेका छन्।