नवलपरासीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, आमा–छोरा घाइते
नवलपरासी, २६ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा आइतबार राति तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका मोटरसाइकल संलग्न थिए।
दुर्घटनामा परी ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका–१७ निवासी २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिनुभयो। दुर्घटनालगत्तै गम्भीर घाइते भएका खोजवारको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा ज्यान गएको हो।
सोही दुर्घटनामा परी प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उहाँका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।