तामाकोशीमा बस दुर्घटना: ६ जनाको मृत्यु, गोताखोरसहितको टोलीद्वारा उद्धार जारी

रामेछाप, २७ माघ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको एक यात्रुवाहक बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–६, त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान करिब पौने ११ बजे प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको हो । सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले ५ जना घाइतेलाई जीवितै उद्धार गरेको छ । घाइतेहरूलाई तत्काल उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका यात्रुहरूको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको विशेष फौज परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली अहिले पनि घटनास्थलमा उद्धार कार्यमा जुटिरहेको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त हुन नसकेकाले बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको डीएसपी थापाले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।