सुरक्षा संवेदनशीलताका कारण त्रिभुवन विमानस्थल क्षेत्रमा निषेधाज्ञा
काठमाडौँ, २८ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
आगामी फागुन १ गते केही समूह र राजनीतिक दलले विमानस्थल परिसरमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले निषेध आदेश जारी गरेको हो ।
बिहीबारदेखि लागू हुने गरी जारी गरिएको यो आदेशअनुसार अब विमानस्थल क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस वा कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेश अनुसार विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) देखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।
विमानस्थल जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा उत्तेजित भीड जम्मा हुँदा तोडफोड, आगजनी र उच्छृङ्खल गतिविधि हुनसक्ने जोखिम भएकाले यस्तो निर्णय लिइएको प्रशासनले स्पष्ट पारेको छ ।
प्रशासनले नागरिकको शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति आफूहरू प्रतिबद्ध रहेको बताएको छ । तर, निषेधित क्षेत्र बाहिर गरिने प्रदर्शनका क्रममा सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा त्यसको क्षतिपूर्ति आयोजकबाटै असुल गरिने चेतावनी दिइएको छ ।
विमानस्थलको नियमित सञ्चालन र सुरक्षामा खलल पुग्न नदिन सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा रहन समेत निर्देशन दिइएको छ ।