तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ उजुरी, स्मार्ट बोर्डबाट उम्मेदवारको तस्बिर हटाउन निर्देशन

तनहुँ, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै तनहुँमा चुनावी सरगर्मी बढेको छ। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रशासनले कडाइ गरे पनि जिल्लामा हालसम्म आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार परेका उजुरीहरूमाथि छानबिन गरी सम्बन्धित पक्षलाई सचेत गराउने काम भइरहेको छ।

तनहुँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्ड विवादमा परेको छ। बोर्डमा उम्मेदवारको तस्बिर र निर्वाचन चिह्न (सङ्केत) राखिएको उजुरी परेपछि प्रशासनले तत्काल ती तस्बिरहरू हटाउन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले भन्नुभयो, “उजुरी परेपछि हामीले न्यौपानेको फोटो हटाउन लगाएका छौँ। अन्य उजुरीका हकमा पनि मौखिक स्पष्टीकरण लिई आचारसंहिता कार्यान्वयनका लागि सचेत गराइएको छ।”

प्रशासनका अनुसार राजनीतिक दलहरूले क्षमताभन्दा बढी भीड प्रदर्शन गरेको, झण्डाको अत्यधिक प्रयोग गरेको र सरकारी कर्मचारीहरू समेत निर्वाचन प्रचारप्रसारमा हिँडेको जस्ता विषयमा उजुरी परेका छन्।

आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी नियमित अनुगमन भइरहेको रेग्मीले जानकारी दिनुभयो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गर्नुभएको छ।

तनहुँका दुई निर्वाचन क्षेत्रमा गरी कुल २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने जिल्लाभर कुल २ लाख ५४ हजार ३९७ मतदाता रहेका छन्।