४ अर्ब ५० करोडको तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको परीक्षण सुरु, उच्च सतर्कता अपनाउन प्राधिकरणको अपिल
गुल्मी, ३ फागुन । नेपाल विद्युत् प्राधिकरणले गुल्मी सदरमुकाम तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइनको आज (आइतबार) देखि परीक्षण सुरु गरेको छ ।
‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे’ आयोजना अन्तर्गतको यो खण्ड सञ्चालनमा आएसँगै गुल्मी र बागलुङमा विद्युत् आपूर्ति सुदृढ हुने भएको छ ।
प्राधिकरणका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित उनाएचौर सबस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ स्थित बुर्तिबाङ सबस्टेसनसम्मको लाइनमा १३२ हजार भोल्ट विद्युत् प्रवाह गरी परीक्षण गरिँदैछ ।
आयोजना प्रमुख मनोज चौधरीका अनुसार यो प्रसारणलाइन दुई दिनसम्म परीक्षणको क्रममा रहनेछ । “हामीले आज र भोलि पूर्ण क्षमतामा विद्युत् प्रवाह गरी प्राविधिक पक्षको जाँच गर्नेछौँ,” उहाँले भन्नुभयो, “त्यसपछि मात्र यसलाई नियमित सञ्चालनमा ल्याइनेछ ।”
यो लाइन गुल्मीको रेसुङ्गा, इस्मा र मुसिकोट नगरपालिका हुँदै बागलुङको बडिगाड र ढोरपाटन नगरपालिकाको बुर्तिबाङसम्म फैलिएको छ ।
प्रसारणलाइनमा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले प्राधिकरणले सर्वसाधारणका लागि सुरक्षा सतर्कता सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ:
प्रसारणलाइनको टावरमा नचढ्न र तार वा कुनै पनि संरचनालाई नछुन ।
टावर वरिपरि नजान र आफ्ना घरेलु जनावरहरूलाई खुला नछाड्न ।
बालबालिकालाई विद्युतीय संरचनाको जोखिमबारे सचेत गराउन ।
परीक्षणका क्रममा कतै झिल्का (स्पार्क) देखिएमा वा आवाज सुनिएमा तुरुन्त नजिकको प्रहरी वा प्राधिकरणको कार्यालयमा खबर गर्न भनेकाे छ ।
करिब साढे चार अर्ब रुपैयाँको लागतमा सम्पन्न यो आयोजनाले लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भेगमा विद्युत् सेवाको गुणस्तर सुधार्नेछ । यसअघि बुटवलबाट लामो दूरीको लाइनमार्फत विद्युत् ल्याउँदा गुल्मी र बागलुङमा पटक–पटक ‘ट्रिपिङ’ र ‘लो भोल्टेज’ को समस्या थियो । अब कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची र गुल्मी हुँदै विद्युत् आपूर्ति हुने भएकाले ती समस्या समाधान हुने आयोजना प्रमुख चौधरीले विश्वास व्यक्त गर्नुभयो ।