प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा, ४० दिनमै कार्य सम्पन्न गरिँदै
भक्तपुर, ४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गर्न बाँकी रहेका अन्तिम पाँच लाख मतपत्र आजै (बिहीबार) साँझसम्ममा तयार भइसक्ने जनाएको हो ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि आवश्यक बाँकी मतपत्रको छपाइ कार्य आज दिनभरमा सम्पन्न हुनेछ । “प्रत्यक्षतर्फको दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा अब पाँच लाख मात्र बाँकी छ,” पौडेलले भन्नुभयो, “हामीले ४२ दिनको कार्यतालिका बनाएर काम सुरु गरेका थियौँ, तर लक्ष्यभन्दा दुई दिन अगावै अर्थात् ४० दिनमै छपाइ कार्य सकिँदैछ ।”
छपाइ सम्पन्न भएपछि शुक्रबारसम्ममा सबै मतपत्र ‘प्याकिङ’ गरी बाँकी रहेका जिल्लाहरूमा ढुवानी गरिने केन्द्रले जनाएको छ । केन्द्रले दैनिक १३ देखि १५ लाखका दरले मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि नै १० लाख थान नमुना मतपत्र छापेर निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ र प्याकिङ कार्य यसअघि नै सम्पन्न भइसकेको छ । ती मतपत्रहरू अहिले जिल्ला–जिल्लामा पठाउने कार्य भइरहेको प्रबन्ध सञ्चालक पौडेलले जानकारी दिनुभयो ।
मतपत्र ढुवानीका सन्दर्भमा जानकारी दिँदै पौडेलले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र पुगिसकेको बताउनुभयो । बाँकी रहेका अन्य क्षेत्र र जिल्लाहरूमा पनि आगामी फागुन १२ गतेभित्र मतपत्र पुर्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको केन्द्रले जनाएको छ ।