नेप्सेमा २० अङ्कको गिरावट, परिसूचक घट्दा पनि कारोबार रकम भने ८ अर्ब ३६ करोड नाघ्यो
काठमाडौँ, ६ फागुन । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । सोमबार ओरालो लागेको बजारले मंगलबार पनि सोही लय समातेको हो । यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ ।
मंगलबार नेप्से परिसूचक २०.७५ अङ्कले घटेर २६४२.१५ विन्दुमा सीमित भएको छ । समग्र बजार घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.९९ अङ्कले घटेको छ । त्यस्तै, फ्लोट इण्डेक्स १.५९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अङ्कले ओरालो लागेका छन् ।
बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार ७ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार त्यो रकम बढेर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार, आज ३५४ वटा कम्पनीका २ करोड ५ लाख ५९ हजार कित्ता शेयर ८३ हजार ७५ पटक किनबेच भएका छन् ।
मंगलबारको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ३३ रुपैयाँले बढेर ३६३ रुपैयाँ पुगेको छ ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढ्दा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्य करिब साढे ८ प्रतिशतले उकालो लागेको छ । यता, सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । दोस्रो स्थानमा आँखु खोला जलविद्युत कम्पनीको साढे ४४ करोड र तेस्रोमा ङादी ग्रुप पावरको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सूचक राताम्मे भएका छन् भने २ वटा उपसमूहमा मात्र सामान्य सुधार देखिएको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक झिनो अङ्कले बढ्दा वित्त (फाइनान्स) उपसमूहमा भने सर्वाधिक २.११ प्रतिशतको गिरावट आएको छ ।