निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि गएकाे सेनाको बस भोजपुरमा दुर्घटना: २४ सैनिक घाइते, ९ को अवस्था गम्भीर

भोजपुर, ६ फागुन । भोजपुर नगरपालिका–४ स्थित दावाँको सेती बगरमा नेपाली सेनाको टोली सवार बस दुर्घटना हुँदा २४ जना सैनिक कर्मचारी घाइते भएका छन् । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङतर्फ जाँदै गरेको श्रीनाथ गणको ना ४ ख ७३१७ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाका अनुसार बसमा कुल २६ जना सवार थिए । दुर्घटनामा २४ जना घाइते भएका छन् भने एक जमदारसहित दुई जना सैनिक कर्मचारी सकुशल रहेका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि तत्काल काठमाडौं लैजान दुईवटा हेलिकप्टर मगाइएको डीएसपी लामाले जानकारी दिए । अन्य सामान्य घाइतेहरूको हाल भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सैनिक टोली बोकेको उक्त बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।