धनुषामा आचारसंहिता विपरित गरिएका २० हजारभन्दा बढी अवैध प्रचार सामग्री प्रशासनले हटायो

जनकपुरधाम, १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारप्रसार तीव्र बनेसँगै धनुषा प्रशासनले आचारसंहिता पालनामा कडाइ गरेको छ।

निर्वाचन आचारसंहिताविपरीत जथाभावी टाँसिएका करिब २० हजार थान पर्चा, पम्पलेट, पोस्टर र ब्यानरहरू प्रशासनले हटाएको हो।

जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा जनकपुरधाम नगर क्षेत्रका विभिन्न सार्वजनिक स्थल, सरकारी भवन, विद्युत्का पोल र सडक छेउछाउमा राखिएका सामग्रीहरू निकालिएको छ।

प्रशासनले यसअघि नै सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताविपरीतका सामग्रीहरू आफैँ हटाउन एक दिनको समय दिएको थियो। तर, तोकिएको समयभित्र उम्मेदवारहरूले सामग्री नहटाएपछि सुरक्षाकर्मी र कर्मचारीको टोली आफैँ खटेर ती सामग्रीहरू नष्ट गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद लुइँटेलले सहरको सौन्दर्य बिगार्ने र निर्वाचन कानुनको धज्जी उडाउने कार्य स्वीकार्य नहुने बताउनुभयो। “हामीले पटक–पटक आग्रह गर्दा पनि नियम पालना नभएपछि बाध्य भएर कारबाहीस्वरूप यी सामग्रीहरू हटाएका हौँ,” प्रजिअ लुइँटेलले भन्नुभयो, “अब पुनः कसैले आचारसंहिताविपरीत सामग्री टाँसेको पाइएमा उम्मेदवारलाई सिधै कानुनी कारबाही गरिनेछ।”

मुख्य बजार क्षेत्र, चोक र सार्वजनिक भित्ताहरूमा नियमविपरीत ठूला फ्लेक्स र ब्यानरहरू झुण्ड्याउने होडबाजी नै चलेपछि प्रशासनले निगरानी बढाएको छ। स्थानीय तह, प्रहरी र निर्वाचन कार्यालयको समन्वयमा नियमित अनुगमन भइरहेको प्रशासनले जनाएको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता भेटघाट र घरदैलोमा सक्रिय भएका दलहरूलाई मर्यादित ढङ्गले प्रचार गर्न प्रशासनले पुनः अपिल गरेको छ। जथाभावी टाँसिएका सामग्रीले सहर फोहोर देखिनुका साथै उम्मेदवारहरूबीच अस्वस्थ प्रतिस्पर्धा समेत निम्त्याउने भएकाले यसमा कडाइ गरिएको हो।