निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन स्वास्थ्य मन्त्रालयको आग्रह, आकस्मिक सेवाका लागि ‘अलर्ट’ रहन निर्देशन

काठमाडौँ, ११ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको काममा स्वास्थ्यकर्मीहरूलाई परिचालन नगर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गरेको छ । निर्वाचनका बेला हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम र आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्वाचनको समयमा शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलताका हिसाबले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वास्थ्य संस्थामै उपलब्ध हुनु अनिवार्य छ ।

“निर्वाचनको समयमा कुनै पनि अप्रत्याशित दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या आइपर्न सक्छ,” प्रवक्ता बुढाथोकीले भन्नुभयो, “यस्तो बेला स्वास्थ्यकर्मीहरू २४सै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ । यदि उनीहरूलाई मतदान केन्द्र वा निर्वाचनको अन्य प्रशासनिक काममा खटाइयो भने आकस्मिक सेवा प्रभावित हुन सक्छ ।”

मन्त्रालयले निर्वाचनको दिन र सो वरिपरिको समयमा हुनसक्ने भीडभाड, झडप वा अन्य स्वास्थ्य सङ्कटलाई ध्यानमा राखेर यो निर्णय लिएको हो ।

मन्त्रालयले निर्वाचन आयोगलाई आग्रह गर्नुका साथै देशभरका स्वास्थ्यकर्मीहरूलाई पनि निर्वाचन अवधिभर तयारी अवस्थामा (Standby) रहन निर्देशन दिएको छ । निर्वाचनका बेला बिदामा नबस्न र आकस्मिक सेवाका लागि आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन दुरुस्त राख्न समेत अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई भनिएको छ ।

निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनका क्रममा प्रायः निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने गरे पनि कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरूलाई पनि जिम्मेवारी दिने गरिएको थियो । स्वास्थ्य मन्त्रालयको यो आग्रहपछि आयोगले स्वास्थ्यकर्मीको सट्टा अन्य विकल्प खोज्ने अपेक्षा गरिएको छ ।