दार्चुलामा सय मेगावाट विद्युत् उत्पादन, तर अपिहिमाल बल्ल उज्यालोको पर्खाइमा

दार्चुला, १२ फागुन । दार्चुलाको चमेलिया र आसपासका नदीबाट करिब एक सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, मुहानमै रहेको जिल्लाकै सबैभन्दा विकट अपिहिमाल गाउँपालिकाका अधिकांश बस्ती भने वर्षौंदेखि अन्धकारमै छन्। टुकी र सोलारको भरमा जीवन गुजारिरहेका यहाँका स्थानीयका लागि अब भने गाउँमै बिजुली पुग्ने आशा पलाएको छ।

अपिहिमाल गाउँपालिका–१ का ल्वाथी, लुम्चा, खायकोट, भट्टार, गुरुसाड र वडा नम्बर २ का घुसा, पाटु, लिथीलगायतका बस्ती अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर छन्। भौगोलिक विकटताका कारण सडक सञ्जाल नपुगेको यस क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरेर विद्युतीकरणको काम तीव्र पारेको छ।

प्राधिकरणको ‘दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजना’ अन्तर्गत सिम्रिक एयरको हेलिकप्टरमार्फत अपिहिमालमा २२ वटा ट्रान्सफर्मर पुर्‍याइएको छ। आयोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतका अनुसार, जनशक्ति र यातायातको अभावले विगतमा ढिलाइ भए पनि अहिले हाइटेन्सन लाइन विस्तारको काम धमाधम भइरहेको छ।

स्थानीय बासिन्दासमेत विद्युतीकरणमा सक्रिय रूपले जुटेका छन्। अपिहिमाल–२ का रमेशसिंह लोथ्यालले भने, “गाउँमा बिजुली बाल्ने धोको पूरा गर्न हामी आफैँले पिठ्युँमा बोकेर पोल गाड्ने काम गरिरहेका छौँ।” निर्माण व्यवसायी जीवन लोथ्यालका अनुसार वडा नम्बर २ को धनबोरासम्म ‘हाइ–टेन्सन’ लाइन पुगिसकेको छ भने अन्य वडाहरूमा पोल गाड्ने र तार तान्ने काम भइरहेको छ।

गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले ६ वटा वडामध्ये हाल वडा नम्बर ५ मा मात्रै राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिए। बाँकी वडाहरूमा पोल ढुवानी र लाइन विस्तारको काम अन्तिम चरणमा पुगेकाले छिट्टै सबै बस्ती झिलिमिली हुने उनले बताए।

नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख रौशनकुमार ठाकुरका अनुसार जिल्लाका करिब २८ हजार घरधुरीमध्ये हालसम्म २२ हजार ४८८ (७९.२४ प्रतिशत) घरमा विद्युत् पहुँच पुगिसकेको छ।

जिल्लाको महाकाली, लेकम, मालिकार्जुन, दुहुँ र शैल्यशिखरमा विद्युतीकरणको काम अन्तिम चरणमा छ भने व्यास, मार्मा र नौगाडमा विस्तारको काम जारी छ। रोचक कुरा के छ भने, जिल्लाभर विद्युत् उत्पादन सय मेगावाटको हाराहारीमा भए पनि यहाँको आन्तरिक खपत भने जम्मा २ मेगावाट मात्र रहेको केन्द्र प्रमुख ठाकुरले जानकारी दिए।