झापा–५ मा रास्वपासहित विभिन्न दल परित्याग गरी साढे तीन सयभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

दमक, १३ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा दल परिवर्तन गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा दमक नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न राजनीतिक दल परित्याग गरी ३५० भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

बुधबार दमक–४ स्थित धरधरे टोलमा आयोजित एक कार्यक्रमका बीच उनीहरू एमालेमा समाहित भएका हुन्। नवप्रवेशीहरूलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

विगतमा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यस क्षेत्रमा उल्लेख्य विकास भएको र आगामी दिनमा पनि ओलीको नेतृत्वबाहेक अन्यबाट विकासको अगुवाइ सम्भव नदेखेर आफूहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन्।

यसअघि पनि यस क्षेत्रमा रास्वपाका क्षेत्रीय स्तरका नेताहरूसहित विभिन्न दलका व्यक्तिहरू एमालेमा प्रवेश गरिसकेका छन्।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार रहेका छन्। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता रिझाउन र आफ्नो पक्षमा माहोल बनाउन घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा सक्रिय बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *