अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा नेपाललाई स्वर्ण : पाथीभरा एकेडेमीका यसुमन लामा प्रथम

काठमाडाैं, १९ फागुन । मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६’ अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ ।

भक्तपुरको सृजनानगरस्थित पाथीभरा एकेडेमीले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शैक्षिक प्रतिष्ठा बढाउन सफल भएको हो ।

प्रतियोगिता अन्तर्गत लेभल ‘X3B’ विधामा पाथीभरा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी यसुमन लामाले प्रथम स्थान हासिल गरेका छन् । नेपाल, भारत र मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरू सहभागी सो च्याम्पियनसिपमा लामाले उत्कृष्ट गणितीय दक्षता प्रदर्शन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता डा. जरीफ मेननले गर्नुभएको थियो भने मलेसिया विजनेश चेम्बर भियतनामका पूर्व अध्यक्ष दतुक डा. एम. शिमी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अध्यक्ष डा. मेननले सहभागी विद्यार्थीहरूको अद्भुत एकाग्रता र जटिल गणितीय प्रश्न हल गर्ने गतिको प्रशंसा गर्दै बालबालिकाले डिजिटल क्याल्कुलेटरलाई समेत मात दिने क्षमता प्रस्तुत गरेको बताउनुभयो ।

पाथीभरा एकेडेमीका प्रधानाध्यापक रमेशप्रसाद सिटौलाले विद्यार्थी यसुमन लामाको यो सफलता विद्यालय, भक्तपुर र समग्र राष्ट्रकै लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले विद्यार्थी, अभिभावक र शिक्षकहरूको सामूहिक समर्पणका कारण यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विद्यार्थीलाई तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

च्याम्पियनसिपको संयुक्त आयोजना साउथ एशियन डेभलपमेन्ट बैंक लिमिटेड (यूके), रे फाउन्डेसन (भारत), प्यासिफिक एलायन्स ग्रुप (मलेसिया) र नेपालको बाल विकास एनसिएमएएसलगायतका संस्थाहरूले गरेका थिए ।

अबाकस तथा वैदिक गणित शिक्षाले बालबालिकाको तार्किक सोच र मानसिक विकासमा ठूलो योगदान पुर्‍याउने देखिएकाले यसको विश्वव्यापी विस्तार तीव्र गतिमा भइरहेको आयोजकहरूले बताएका छन् ।