इरानका नयाँ सर्वोच्च नेता खामेनी घाइते भएको हल्ला, राष्ट्रपति पुत्रद्वारा सुरक्षित रहेको दाबी

एजेन्सी, २७ फागुन । अमेरिका र इजरायलसँगको जारी युद्धका क्रममा इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी घाइते भएको खबर फैलिरहेका बेला उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरिएको छ । इरानी राष्ट्रपतिका छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले सामाजिक सञ्जालमार्फत उक्त दाबी गरेका हुन् ।

पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत खामेनीको स्वास्थ्य अवस्थाबारे फैलिएको हल्लाको खण्डन गरेका छन् । उनले लेखेका छन्, “मैले पनि मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । तर, सम्पर्कमा रहेका केही साथीहरूसँग बुझ्दा भगवानको कृपाले उहाँ पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको जानकारी पाएको छु ।”

राष्ट्रपतिको सचिवालय निकट स्रोतले खामेनी सुरक्षित रहेको दाबी गरे पनि अमेरिकी पत्रिका ‘न्युयोर्क टाइम्स’ले भने उनी घाइते भएको दाबीसहितको रिपोर्ट बुधबार नै प्रकाशित गरेको छ । तीन जना अज्ञात इरानी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित उक्त रिपोर्टमा खामेनीको खुट्टामा चोट लागेको उल्लेख छ । यद्यपि, उनी होसमै रहेको र सञ्चार सम्पर्क सीमित गरी अत्यन्त सुरक्षित स्थानमा राखिएको रिपोर्टमा जनाइएको छ ।

यसअघि इरानी सरकारी टेलिभिजनले समेत खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्वसैनिक’ भनेर सम्बोधन गरेको थियो । तर, उनी कहिले र कसरी घाइते भए भन्नेबारे टेलिभिजनले कुनै स्पष्ट विवरण दिएको थिएन ।

५६ वर्षीय मोजताबा खामेनी इरानका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा तथा उत्तराधिकारी हुन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा आयातुल्ला अली खामेनीको मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो । सोही घटनापछि मध्यपूर्वमा व्यापक युद्ध भड्किएको छ ।

मोजताबा सार्वजनिक जीवनमा विरलै देखिने र निकै कम बोल्ने नेताका रूपमा चिनिन्छन् । आइतबार मात्रै सर्वोच्च नेता घोषणा गरिएका उनले हालसम्म राष्ट्रका नाममा कुनै औपचारिक सम्बोधन गरेका छैनन् भने उनको तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *