देशभर बढ्न थाल्यो गर्मी: काठमाडौँमा २५ र तराईमा ३३ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान
काठमाडौँ, २८ फागुन । फागुनको अन्तिम साता सुरु भएसँगै देशभरका प्रमुख सहरी क्षेत्रहरूमा गर्मी बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार विगत तीन दिनदेखि देशका अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको हो।
विभागले सार्वजनिक गरेको विवरणअनुसार विशेषगरी तराई तथा मधेसका सहरहरूमा तापक्रममा उल्लेख्य वृद्धि देखिएको छ। राजधानी काठमाडौँमा गत फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा आज मध्याह्नसम्म बढेर २५.४ डिग्री सेल्सियस पुगेको छ। आज रातिको न्यूनतम तापक्रम भने १५ देखि १७ डिग्रीको हाराहारीमा रहने अनुमान गरिएको छ।
मध्याह्नसम्मको मापनअनुसार सिराहा र बाँकेमा सबैभन्दा बढी ३१.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ। आज दिउँसो विराटनगरमा तापक्रम ३१ देखि ३३ डिग्री र नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियसको आसपास रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी, पर्यटकीय सहर पोखरामा आज अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस पुग्ने अनुमान छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री र जोमसोममा १७–१९ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिएको छ। सबैभन्दा कम तापक्रम भने मनाङको हुम्दे विमानस्थलमा ३.२ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हावामा आद्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको हो। “हाल देशका अधिकांश स्थानमा मौसम सफा छ। आगामी दिनहरूमा तापक्रम अझै बढ्दै जाने सम्भावना देखिएको छ,” उहाँले भन्नुभयो।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश सहरमा दिउँसोको मौसम सामान्यतया सफा रहने र तापक्रम बढ्दो क्रममा रहनेछ। गर्मी बढ्न थालेसँगै सहरी क्षेत्रको जनजीवनमा यसको प्रभाव देखिन थालेको छ।