आजको मौसम यस्ताे छ : कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?
काठमाडौँ, ८ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी तथा हिमाली भेगमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
अहिले कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति हिमाली भूभागमा साधारणतया बदली र पहाडी भेगमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ । तराईको मौसम भने मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमी सूचनाप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।