अधिकारकर्मीहरू द्वारा इनिशा र रेश्मिकालाई न्याय माग्दै आयोग परिसरमा प्रदर्शन
काठमाडौँ, ९ चैत । बलात्कारपछि हत्या गरिएका छोरीचेलीलाई न्याय दिनुपर्ने माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरूले राष्ट्रिय महिला आयोगमा प्रदर्शन गरेका छन्। सडकमा आन्दोलन गर्दा पनि राज्यले नसुनेको भन्दै उनीहरूले आयोग परिसरमै पुगेर नाराबाजी गरेका हुन्।
सुर्खेतकी इनिशा विक र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै पीडित पक्ष काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। यसअघि माइतीघर मण्डलामा धर्ना बस्दा पनि सरकार र सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर महिला आयोगको ध्यानाकर्षण गराउनुपरेको उनीहरूले बताएका छन्।
आयोग परिसरमा भेला भएका आन्दोलनकारीहरूले ‘महिला आयोग किन चूप ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरीचेलीको रक्षा गर्’, ‘महिला अधिकार सुनिश्चित गर्’ र ‘महिला हिंसा अन्त्य गर्’ जस्ता नारा लगाएका थिए।
पीडित परिवारले सुर्खेतकी इनिशा विकको हत्यासम्बन्धी घटनाको शीघ्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। त्यसैगरी, खोटाङकी रेश्मिका परियारको बलात्कार र हत्यामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न उनीहरूको जोडदार माग छ।
यसैबीच, पीडित परिवारको यस न्याय अभियानमा खोटाङ सेवा समाजले पनि ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोकाले राज्य संयन्त्र मौन बस्दा पीडितले न्याय पाउन नसकेको भन्दै जतिसक्दो चाँडो निष्पक्ष अनुसन्धान गरी पीडकलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन्।