एसइई परीक्षा आजदेखि सुरु: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी, सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८:०० बजेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा एकसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आगामी चैत २९ गतेसम्म चल्ने यस परीक्षामा देशभरका ११ हजार ३७९ विद्यालयका कूल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन् । सहभागीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन् ।

यस वर्षको परीक्षामा छात्रभन्दा छात्राको सङ्ख्या बढी देखिएको छ । तथ्याङ्कअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जनाले परीक्षा दिँदै छन् । नेपाल बाहिर जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी परीक्षामा सम्मिलित भएका छन् ।

यस्तो छ परीक्षा तालिका
आज अङ्ग्रेजीको परीक्षासँगै भोलि चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ । त्यसैगरी २५ र २६ गते ऐच्छिक विषयहरू तथा २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

नयाँ व्यवस्था: जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण
बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणमा नयाँ र छिटोछरितो प्रणाली अवलम्बन गरेको छ । जसअनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र सम्बन्धित केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरी ‘मार्कस्लिप’ तयार पारिनेछ । त्यसपछि सुरक्षित र सिलबन्दी रूपमा नतिजा शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । नतिजालाई छिटो सार्वजनिक गर्न यो विधि अपनाइएको र एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सामूहिक अनुगमनमा रोक र कडा सुरक्षा
परीक्षाको मर्यादा र विद्यार्थीको एकाग्रतालाई ध्यानमा राख्दै बोर्डले यस वर्ष सामूहिक अनुगमनमा रोक लगाएको छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू समूहमा हलभित्र प्रवेश गर्दा परीक्षार्थीलाई अवरोध पुग्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको समितिले मात्र अनुगमन गर्नेछ ।

सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी परिचालन गरिएको छ भने २० परीक्षार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षण केन्द्रहरूमा सिसिटिभी जडान गरी विद्युतीय उपकरणको प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ ।