पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहा गर्न सदनबाटै एमालेको माग
काठमाडौं, १९ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठकमा उठेर विरोध जनाएका छन्। उनीहरूले नेताहरूको गिरफ्तारीलाई ‘गलत कदम’ भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई आ–आफ्नो आसनमा बसेर संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमाले सांसदहरूले उभिएरै विरोध जारी राखेपछि ज्येष्ठ सदस्य केसीले एमाले सांसद गुरु बराललाई बोल्नका लागि समय उपलब्ध गराएका थिए।
संसद्मा बोल्दै सांसद बरालले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पूर्वाग्रही र गलत ढंगले पक्राउ गरेको भन्दै कडा आपत्ति जनाए। साथै, उनले काठमाडौंसहित देशभर भइरहेका शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बलप्रयोग र दमन गरिरहेको आरोप लगाए। शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने नागरिकको लोकतान्त्रिक अधिकार कुण्ठित गरिएको भन्दै उनले पक्राउ परेका दुवै नेतालाई अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन्।