मुग्लिन–मलेखु सडकखण्ड थप तीन दिन राति बन्द हुने, यस्तो छ नयाँ तालिका
चितवन, १९ चैत । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा भइरहेको स्तरोन्नति कार्यका लागि रात्रिकालीन समयमा सवारी आवागमन बन्द गर्ने निर्णयलाई थप तीन दिनका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै आगामी चैत २२ गतेसम्म सडक बन्द रहने जानकारी दिएको हो ।
यसअघि चैत १७ गतेदेखि तीन दिनका लागि राति १०:०० बजेदेखि बिहान ४:०० बजेसम्म सडक बन्द गरिएको थियो । तर, निर्माण क्षेत्रमा रहेका कडा चट्टानहरू फुटाएर सफा गर्ने कार्य नसकिएकाले भोलि (शुक्रबार) देखि पुनः तीन दिनका लागि सोही समयतालिका अनुसार आवागमन रोक्ने निर्णय भएको हो ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक विस्तारको काम चुनौतीपूर्ण रहेकाले समय थप गरिएको हो । “कडा चट्टान फोडी सडक सफा गर्न थप समय लाग्ने प्राविधिक प्रतिवेदनका आधारमा चैत २२ गतेसम्म राति सडक बन्द गरेर काम गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
सडक बन्द रहने अवधिमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका सवारीसाधन जस्ता अत्यावश्यक सेवाहरूलाई भने समन्वय गरी सञ्चालन गर्न दिइनेछ । अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन भने पूर्ण रूपमा ठप्प रहने प्रशासनले जनाएको छ ।
दिउँसोको समयमा सवारी साधनको अत्यधिक चाप हुने र निर्माण कार्य गर्दा यात्रुले लामो सास्ती भोग्नुपर्ने भएकाले रात्रिकालीन समयमा कामलाई तीव्रता दिइएको हो । प्रशासनले यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई समय तालिका बुझेर मात्र आफ्नो यात्रा तय गर्न वा वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।