इरानद्वारा दुई अमेरिकी युद्धविमान ध्वस्त : २० वर्षयताकै दुर्लभ घटना, मध्यपूर्वमा तनाव उत्कर्षमा
एजेन्सी, २२ चैत्र । इरानले दुईवटा अमेरिकी युद्धविमान खसालेपछि मध्यपूर्वमा क्षेत्रीय तनाव थप चुलिएको छ । पछिल्लो २० वर्षयता अमेरिकी लडाकु विमान शत्रुपक्षबाट खसालिएको यो पहिलो दुर्लभ घटना भएको सैन्य विश्लेषकहरूले बताएका छन् । यस घटनाले निरन्तरको आक्रमणका बाबजुद इरानको हवाई प्रतिरक्षा र प्रतिकार क्षमता अझै बलियो रहेको सन्देश दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक अमेरिकी सैनिकको सकुशल उद्धार गरिएको छ भने अर्का एक बेपत्ता छन् । बेपत्ता सैनिकको खोजी कार्य तीव्र पारिएको छ । यसैबीच, इरानी सञ्चारमाध्यमहरूले अमेरिकाको अर्को एउटा लडाकु विमान पनि खसालिएको दाबी गरेका छन् ।
सैन्य विज्ञहरूका अनुसार, यसअघि सन् २००३ को इराक युद्धका क्रममा मात्रै अमेरिकी युद्धविमान यसरी शत्रुपक्षको निसानामा परेर खसेको थियो । त्यसयता अमेरिकी हवाई सेनाले यस्तो क्षतिको सामना गर्नुपरेको थिएन ।
पछिल्ला दुई दशकमा अमेरिका प्रायः कमजोर हतियार भएका विद्रोही समूहहरूसँग मात्र लड्दै आएको थियो, जससँग आधुनिक हवाई प्रतिरक्षा प्रणाली थिएन । तर, इरानसँग अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली रहेकाले अमेरिकी विमान खसाल्न सम्भव भएको सैन्य विशेषज्ञहरूको विश्लेषण छ ।
पछिल्लो एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले इरानमाथि निरन्तर हवाई आक्रमण गरिरहेका छन् । अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी विभिन्न सामरिक लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ । यति ठूलो स्तरको आक्रमणका बाबजुद इरानले हार मानेको छैन । उसले ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन (मानवरहित यान) मार्फत निरन्तर प्रतिकार गरिरहेको छ ।
अमेरिका र इरानबीच बढ्दो यो प्रत्यक्ष द्वन्द्वले मध्यपूर्वको क्षेत्रीय अस्थिरता बढाउनुका साथै विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पार्ने जोखिम बढाएको छ ।
विश्लेषकहरूका अनुसार, आकाशमा केवल सैन्य वर्चस्व (Air Superiority) कायम गर्नु र पूर्ण नियन्त्रण (Total Control) हासिल गर्नु नितान्त फरक विषय हुन् । शुक्रबारको घटनाले अमेरिकाले इरानको हवाई क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न नसकेको देखाएको छ । यसले आगामी दिनमा यो द्वन्द्व थप जटिल र विनाशकारी बन्दै जाने स्पष्ट सङ्केत गरेको जानकारहरू बताउँछन् ।
