राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित
काठमाडौं, २३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो।
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच भएको सर्वदलीय सहमतिअनुसार उपाध्यक्ष पदमा भण्डारीको एकल उम्मेदवारी परेको थियो। निर्धारित समयभित्र अन्य कुनै पनि उम्मेदवारको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
भण्डारीको उम्मेदवारीको प्रस्तावकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका थिए।
त्यसैगरी, उनको उम्मेदवारीलाई सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले समर्थन गरेका थिए। समर्थकका रूपमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पूजा चौधरी र नेपाल कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा) रहेका थिए।
दलीय सहमतिकै आधारमा भण्डारी निर्विरोध भएको संसद् सचिवालयले जनाएको छ।
