मध्यपूर्वमा युद्ध: इरान–इजरायल आक्रमण तीव्र, विश्व अर्थतन्त्र र ऊर्जा बजारमा तरङ्ग
एजेन्सी, २३ चैत्र । मध्यपूर्वमा जारी द्वन्द्वले भयानक मोड लिएको छ। इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको सैन्य टकराव तीव्र बन्दै जाँदा युद्ध क्षेत्रीय तहमा मात्र सीमित नभई विश्वव्यापी सङ्कटतर्फ धकेलिएको छ। पछिल्ला घटनाक्रमले व्यापक मानवीय क्षति, इन्धन सङ्कट र कूटनीतिक तनावलाई एकैसाथ बढाएको छ।
इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ। साततले आवासीय भवनमा सीधा मिसाइल लाग्दा भवन आंशिक रूपमा भत्किएको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको खोजी भइरहेको इजरायली उद्धार टोलीले जनाएको छ।
यसको जवाफमा इजरायलले इरानको राजधानी तेहरानमा ‘शासन लक्षित’ शृङ्खलाबद्ध आक्रमण गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार तेहरानका विभिन्न आवासीय क्षेत्रमा शक्तिशाली विस्फोटहरू भएका छन् भने केही स्थानमा ग्यास आपूर्ति अवरुद्ध भएको छ। इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले नागरिक संरचनामाथि आक्रमण दोहोरिए अझ ‘विनाशकारी’ जवाफ दिने चेतावनी दिएको छ।
सैन्य मोर्चामा अमेरिका पनि प्रत्यक्ष रूपमा सक्रिय देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज (हर्मुज जलडमरू) पुनः सञ्चालन गर्न थप २४ घण्टाको समयसीमा दिँदै त्यसो नभए इरानी पुल र विद्युत् संरचनामाथि कडा आक्रमण गर्ने चेतावनी दिएका छन्। इरानको संसदीय नेतृत्वले भने यस्तो कदमले सम्पूर्ण मध्यपूर्व क्षेत्र जल्ने प्रतिक्रिया दिएको छ।
यसैबीच, इरानी भूमिमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानका एक घाइते पाइलटलाई दर्जनौँ विमानको सहयोगमा जीवितै उद्धार गरिएको अमेरिकाले जनाएको छ। तर, इरानले उक्त अमेरिकी कारबाही पूर्ण रूपमा असफल भएको र उद्धारमा प्रयोग गरिएका दुई अमेरिकी विमान नष्ट गरिएको दाबी गरेको छ। साथै, दक्षिण–पश्चिमी इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गरेका छन्।
युद्धको आगो लेबनान र खाडी मुलुकसम्म फैलिएको छ। इरान समर्थित लेबनानी विद्रोही समूह हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार पुनः सुरु गरेपछि इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ।
आइतबार मात्रै इजरायली आक्रमणमा लेबनानमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा कफर हट्टा सहरकी चार वर्षीया बालिकासहित सात जना, बेरुतमा पाँच र ऐन सादेहमा तीन जना रहेका छन्। यता, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्रमा आएका क्षेप्यास्त्र र ड्रोनहरूलाई आकाशमै नष्ट गरी आक्रमण विफल पारेको जनाएका छन्।
युद्धका कारण विश्वभर इन्धन आपूर्तिमा जोखिम बढेको छ। कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। नर्थ सी ब्रेन्ट र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट (डब्लूटीआई) दुवैको मूल्यमा भारी उछाल आएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। ओपेक प्लसले आगामी मे महिनादेखि दैनिक दुई लाख छ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरे पनि क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न समय लाग्ने चेतावनी दिइएको छ।
तनावकै बीच धार्मिक र मानवीय पक्ष पनि गम्भीर रूपमा प्रभावित भएको छ। इस्टर पर्वका अवसरमा इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित पवित्र सेपुल्चर चर्चमा प्रवेशमा रोक लगाएको छ।
यसैबीच, इसाई धर्मगुरु पोप लियो चौधौँले आफ्नो पहिलो इस्टर सन्देशमार्फत युद्धरत शक्तिहरूलाई शान्तिको बाटो रोज्न अपिल गरेका छन्। हिंसाप्रतिको बढ्दो उदासीनतामा चिन्ता व्यक्त गर्दै उनले हजारौँ मानिसको मृत्युमा विश्व समुदाय संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।