चन्द्रमामा ५० वर्षपछिको ऐतिहासिक उडान : अपोलो १३ को रेकर्ड तोड्दै पृथ्वी फर्किँदै आर्टेमिस टोली
एजेन्सी, २४ चैत्र । चन्द्रमाको ऐतिहासिक उडान सम्पन्न गरी नासाको ‘आर्टेमिस–२’ अन्तरिक्ष टोली पृथ्वीतर्फ फर्किन सुरु गरेको छ । ओरियन क्याप्सुलमार्फत ‘फ्री–रिटर्न प्रक्षेपवक्र’ (स्वतः फर्किने बाटो) हुँदै पृथ्वी आइपुग्न टोलीलाई अब करिब चार दिन लाग्नेछ ।
करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालबाट चन्द्रमालाई नजिकबाट नियालेका चार सदस्यीय टोलीले मानव इतिहासमै अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेको छ । उडानका क्रममा टोलीले चन्द्रमाका कम चिनिएका क्रेटर (खाडल), चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्यग्रहण र चन्द्र सतहमा उल्का पिण्ड ठोक्किँदा निस्कने चमकको प्रत्यक्ष अवलोकन गरेका थिए ।
अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा बाहिरको रहेको भन्दै त्यसलाई ‘अविश्वसनीय अनुभव’ का रूपमा वर्णन गरे । मिसनकी प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान् रहेको बताइन् ।
यस अभियानले सन् १९७० मा ‘अपोलो १३’ ले कायम गरेको सबैभन्दा टाढा पुग्ने मानव अन्तरिक्ष उडानको कीर्तिमान तोडेको छ । टोली पृथ्वीबाट ४ लाख ६ हजार ७७८ किलोमिटर (२ लाख ५२ हजार ७६० माइल) टाढा पुगेको थियो, जुन अघिल्लो रेकर्डभन्दा करिब ६ हजार ६ सय किलोमिटर बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
चन्द्रमाको पछाडिपट्टि पुग्दा अन्तरिक्षयानले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाएको थियो । ५० वर्षभन्दा लामो अन्तरालपछि मानवले पृथ्वीसँग यसरी सम्पर्कविहीन भएको (ब्ल्याकआउट) यो पहिलो घटना हो । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै शान्ति मिलेको बताइन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरेका छन् ।
रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनले समावेशिताको नयाँ इतिहास रचेको छ । मिसनमार्फत ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बनेका छन् भने क्रिस्टिना कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर–अमेरिकी (क्यानेडियन) बनेका छन् ।
मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नामकरण गर्ने प्रस्ताव गर्दा माहोल भावुक बनेको थियो । पहिलो क्रेटरलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ राख्न प्रस्ताव गरिएको छ भने दोस्रोको नाम कमान्डर रिड वाइसम्यानकी दिवंगत पत्नीको सम्झनामा ‘क्यारोल’ राख्न सुझाव दिइएको छ । क्यान्सरका कारण पत्नीको निधन भएको स्मरण गर्दै टोली भावुक बन्दा ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो । यी नामहरू औपचारिक स्वीकृतिका लागि खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय ‘अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन’समक्ष पेस गरिने नासाले जनाएको छ ।
