मनपरी शुल्क असुल्ने निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी : ‘बढी लिएको रकम फिर्ता नगरे गृह प्रशासन लगाएर कारबाही गर्छौं’

काठमाडौं, २५ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत मनोमानी ढङ्गले शुल्क असुल्ने निजी (संस्थागत) विद्यालयहरूलाई कडा कारबाहीको चेतावनी दिएको छ । विद्यार्थीबाट गैरकानुनी रूपमा उठाइएको शुल्क तत्काल फिर्ता नगरे गृह प्रशासन र स्थानीय तहमार्फत कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र कानुन तथा सर्वोच्च अदालतको आदेशविपरीत चर्को शुल्क असुल्ने प्रवृत्ति बढेपछि मन्त्रालयले यसअघि गत चैत २२ गते नै यस्ता कार्य सच्याउन निर्देशन दिएको थियो । तर, कतिपय विद्यालयले अझै पनि अटेर गरी गैरकानुनी रूपमा शुल्क लिइरहेको गुनासो बढेपछि मन्त्रालयले आइतबार पुनः कडा निर्देशन जारी गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा १६६ (६) बमोजिम गैरकानुनी रूपमा उठाइएको बढी शुल्क तत्काल विद्यार्थीलाई फिर्ता गर्न भनिएको छ ।

“कुनै पनि विद्यालयले यस निर्देशनको अवज्ञा गरेको पाइएमा सोही ऐनको दफा १६६ (७) तथा अन्य प्रचलित कानुनबमोजिम गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूसँगको समन्वयमा थप कारबाही प्रक्रिया अघि बढाइनेछ,” मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच, मन्त्रालयले निजी विद्यालयको शुल्कसम्बन्धी गुनासो सुन्न र अभिभावक तथा विद्यार्थीलाई सहजीकरण गर्न सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ (हेल्प डेस्क) समेत स्थापना गरेको छ । विद्यालयले बढी शुल्क लिएको वा फिर्ता गर्न नमानेको खण्डमा अभिभावकले उक्त सहायता कक्षमा सम्पर्क गरी उजुरी तथा रिपोर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।