सिन्धुली र कैलालीबाट लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ, चैत २८ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । नियमित सुरक्षा गस्तीमा खटिएको प्रहरी टोलीले सिन्धुली र कैलालीका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-९, भिमानबाट शुक्रबार दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसमा मात्र खरिद–बिक्री गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेट बरामद गरिएको छ ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१०, घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।