उपत्यकामा सार्वजनिक यातायातको भाडा वृद्धि: न्यूनतम २४ रुपैयाँ कायम, यस्तो छ नयाँ तालिका

काठमाडौँ, २८ चैत । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले शनिबार प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ । अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ । यसअघि कायम रहेको भाडादरमा उल्लेख्य वृद्धि गर्दै मन्त्रालयले दूरीअनुसार नयाँ महसुल तोकेको हो ।

काठमाडौँ उपत्यकाको नयाँ भाडादर सूची:
० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ
० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
२० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ

विद्युतीय सवारीको भाडा यथावत
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडा बढे पनि विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने हाललाई भाडा वृद्धि गरिएको छैन । ती सवारीमा वि.सं. २०७९ वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण यातायात सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीहरूले भाडा बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै उपत्यकामा दैनिक यात्रा गर्ने लाखौँ सर्वसाधारणलाई थप आर्थिक भार पर्ने भएकाे छ ।