बनेपामा भव्य काव्य गोष्ठी, मुरहरि रायमाझीको ‘के छैन नेपालमा ?’ लोकार्पण

काभ्रेपलाञ्चाेक, २९ चैत । प्रगतिशील लेखक सङ्घ (प्रलेस) काभ्रेको आयोजनामा शनिबार बनेपामा एक विशेष काव्य गोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। शिक्षक सङ्गठनको सभाहलमा आयोजित उक्त समारोहमा कवि मुरहरि रायमाझीको कविता सङ्ग्रह ‘के छैन नेपालमा ?’ सार्वजनिक गरिएको हो।

प्रलेस केन्द्रीय कोषाध्यक्ष एवं साहित्यकार डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) को प्रमुख आतिथ्यता तथा प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

लोकार्पित कृति ‘के छैन नेपालमा ?’ माथि टिप्पणी गर्दै विशिष्ट अतिथि प्रा. डा. सीता सुवेदी पन्थीले रायमाझीका कविताहरूमा देशप्रेम, सामाजिक यथार्थ र परिवर्तनको स्वर प्रखर रूपमा आएको बताउनुभयो। उहाँले सविस्तार रूपमा पुस्तकका सबल पक्षहरूमाथि प्रकाश पार्नुभएको थियो।

सोही अवसरमा प्रलेस काभ्रेले प्रमुख अतिथि डा. कृष्ण सुवेदी र विशिष्ट अतिथि प्रा. डा. सीता सुवेदी पन्थीलाई प्रमाणपत्रद्वारा सम्मान गरेको थियो। साथै, कृतिकार कवि मुरहरि रायमाझीलाई ‘स्रष्टा विशेष’ अन्तर्गत प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो।

गोष्ठीमा दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूले आफ्ना समसामयिक कविता, गीत तथा गजलहरू प्रस्तुत गरेका थिए। रचना वाचन गर्नेहरूमा डा. सीता सुवेदी, रक्तिम लामा, सुशीला विष्ट, नवराज उत्साही, श्रीकृष्ण पाण्डे, सञ्जय सोती, सम्झना रायमाझी, गरिमा अधिकारी र हरिप्रसाद चौलागाईं हुनुहुन्थ्यो।
त्यसैगरी अमृत अधिकारी, गेहेन्द्र अधिकारी, नारायणप्रसाद तिमल्सिना, पूर्ण श्रेष्ठ ‘हृदयाङ्कित’, हरिशचन्द्र घिमिरे, सुभद्र अधिकारी, सरस्वती सापकोटा, लोकगायक मच्छेश्वर सापकोटा, रामसुन्दर देउजा, ओम तिमल्सिना, समर्पण श्री र शारदा नेपाल लगायतले सिर्जना प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत सिर्जनाहरूमाथि समालोचकीय टिप्पणी गर्दै प्रमुख अतिथि डा. कृष्ण सुवेदीले काभ्रेली साहित्यको उर्वरता र प्रगतिशील चेतको प्रशंसा गर्नुभयो। उहाँले सिर्जनाहरूले समाजको जीवन्त चित्रण गरेको उल्लेख गर्नुभयो। नवराज उत्साहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन श्रीकृष्ण पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यकार, समाजसेवी र साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।