बिहारमा नितिश कुमार युगको अन्त्य : सम्राट चौधरी बने भाजपाका पहिलो मुख्यमन्त्री

भारत, २ बैशाख । भारतको बिहार राज्यको राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । यससँगै राज्यको राजनीतिमा लामो समयदेखि एकछत्र प्रभाव जमाउँदै आउनुभएका नितिश कुमारको युग समाप्त भएको मानिएको छ ।

राज्यसभा (माथिल्लो सदन) मा जाने निर्णय गर्दै नितिश कुमारले राजीनामा दिएपछि उहाँको उत्तराधिकारीका रूपमा चौधरी मुख्यमन्त्री बन्नुभएको हो । बुधबार बिहान राज्यपाल निवास ‘बिहार लोक भवन’ मा आयोजित विशेष समारोहमा बिहारका राज्यपाल सैयद अता हसनैनले ५७ वर्षीय चौधरीलाई मुख्यमन्त्री पदको शपथ दिलाउनुभयो ।

योसँगै सम्राट चौधरी बिहारको इतिहासमै भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता बन्नुभएको छ ।

नितिश कुमारले एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हाल्नुभएको थियो । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले ऐतिहासिक जित दर्ता गरेपछि उहाँले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

नितिश कुमारको ‘सुशासन’ केन्द्रित लामो शासन शैलीलाई विस्थापित गर्दै नेतृत्वमा पुग्नुभएका चौधरीको उदयलाई सत्ता परिवर्तन मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनकै रूपमा हेरिएको छ ।

सन् १९६८ मा एक प्रभावशाली राजनीतिक परिवारमा जन्मनुभएका चौधरीका पिता शकुनी चौधरी छ पटक विधायक निर्वाचित हुनुभएको थियो भने आमा पार्वती देवीले पनि सन् १९९८ मा समता पार्टीबाट विधायक जित्नुभएको थियो ।

चौधरीले सन् १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट राजनीति सुरु गर्नुभएको थियो । पछि सन् २०१८ मा उहाँ भाजपा प्रवेश गर्नुभयो । उहाँ सन् २०२३ मा भाजपाको प्रदेश अध्यक्ष र सन् २०२४ मा बिहारको उपमुख्यमन्त्री बन्नुभएको थियो ।

कुनै समय नितिश कुमारका कट्टर आलोचक रहेका चौधरीले सन् २०२२ मा “नितिश कुमारलाई सत्ताबाट नहटाएसम्म आफ्नो पगडी (मुरेथा) नउतार्ने” भन्दै आक्रामक अभिव्यक्ति दिनुभएको थियो । तर सन् २०२४ मा भाजपा र जेडीयु गठबन्धन पुनः बनेपछि उहाँ उपमुख्यमन्त्री बन्दै अहिले मुख्यमन्त्रीको कुर्सीमा पुग्नुभएको हो ।

शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पासवानले चौधरीको नेतृत्वमा बिहार विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, सम्राट चौधरीलाई मुख्यमन्त्री बनाउनु भाजपाको रणनीतिक कदम हो । यसले बिहारको शक्तिशाली ओबीसी (अन्य पिछडा वर्ग), विशेषगरी कोइरी/कुशवाहा समुदायबीच पार्टीको जनाधार र समर्थन विस्तार गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *