पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोप : कांग्रेस पूर्वउपसभापति खड्कालाई सात दिने स्पष्टीकरण
काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । पार्टीको लेटरप्याड दुरुपयोग गरी विधानविपरीत कार्य गरेको आरोपमा कांग्रेस केन्द्रीय अनुशासन समितिले उहाँलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
अनुशासन समितिको आइतबार बसेको बैठकले नेता खड्काले आफूसँग नभएको जिम्मेवारी प्रयोग गर्दै गत चैत ३० गते पार्टीको आधिकारिक लेटरप्याडमार्फत वक्तव्य जारी गरेको निष्कर्ष निकालेको छ । विधानविपरीतको यस्तो कार्यप्रति गम्भीर आपत्ति जनाउँदै समितिले खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
यसअघि पनि गत चैत १४ गते नेता खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी वक्तव्य जारी गरेपछि अनुशासन समितिले उहाँलाई सचेत गराएको थियो । तर, पटक-पटक सोही गल्ती दोहोरिएपछि समितिले स्पष्टीकरण माग्ने कडा कदम चालेको हो ।
यसैबीच, कांग्रेस अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीको विधानविपरीत अनुशासन उल्लङ्घन (अन्तर्घात) गर्ने व्यक्तिहरूविरुद्ध उजुरी दिने म्याद थप गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, असहयोग गर्ने वा अनुशासनहीन कार्य गर्ने व्यक्तिहरूमाथि उजुरी दिनका लागि आगामी वैशाख मसान्तसम्मको समयसीमा थप गरिएको समितिले जनाएको छ ।