कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुवै जनाको शव फेला

पाल्पा, ३ बैशाख । नयाँ वर्ष मनाउने क्रममा पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।

बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका २९ वर्षीय तोयानाथ बस्याल (मदन) र ३९ वर्षीय शरण भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, चन्द्र माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका बगनासकाली–९, झिरभञ्ज्याङका बस्यालको शव बुधबार बिहान फेला परेको थियो । त्यसैगरी, बगनासकाली–९, भुसालगाउँका भुसालको शव बिहीबार बिहान दैलातुङ नजिकैको नदी किनारमा भेटिएको हो ।

नयाँ वर्ष (वैशाख १ गते) को अवसरमा साथीभाइसँग कालीगण्डकी किनारमा पिकनिक मनाउन गएका उनीहरू नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले निरन्तर खोजी कार्य जारी राखेको थियो । दुवै जनाको शव परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।