रुकुम पश्चिममा १५ बालबालिकाको उद्धार: अनुमति विना बर्दिया लैजाँदै गरेको अवस्थामा फेला

रुकुम पश्चिम, ३ वैशाख । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको बुधबार बिहान उद्धार गरिएको छ। ‘राष्ट्रिय बहाई समुदाय’ नामक संस्थाले आवश्यक प्रक्रिया पूरा नगरी बालबालिकालाई लैजान लागेको फेला पारेपछि गाउँपालिका र प्रहरीको सक्रियतामा उनीहरूको उद्धार गरिएको हो।

सानीभेरी गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीका अनुसार वडा नं ४ को स्यालबासे भन्ने स्थानबाट बिहान ७:०० बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। ती बालबालिकालाई १० दिने ‘नैतिक शिक्षा’ सिकाउने बाहानामा बर्दिया लैजान लागिएको पाइएको छ।

बालकल्याण अधिकारी ओलीले बालबालिका लैजाने क्रममा गम्भीर कानुनी त्रुटी पाइएको जानकारी दिनुभयो। “सम्बन्धित अभिभावकको लिखित मञ्जुरी लिइएको छैन, वडा कार्यालयसँग कुनै समन्वय छैन र गाउँपालिकालाई समेत यसबारे कुनै जानकारी दिइएको छैन,” ओलीले भन्नुभयो, “प्रक्रिया नपुर्‍याई बालबालिका ओसारपसार गर्नु गैरकानुनी भएकाले हामीले रोकेका हौँ।”

उद्धार गरिएका १५ जनामध्ये ९ जना बालक र ६ जना बालिका रहेका छन्। उनीहरू १३ देखि १७ वर्ष उमेर समूहका छन्। उद्धारपश्चात् सबै बालबालिकालाई गाउँपालिकाको रोहबरमा उनीहरूका अभिभावकको जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले यति ठूलो सङ्ख्यामा बालबालिका लैजानुको वास्तविक उद्देश्य र कानुनी प्रक्रिया मिचिनुको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको प्रकृति हेर्दा मानव बेचबिखन वा अन्य शङ्कास्पद गतिविधिको सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *