सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु : राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न ४:०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने कार्यसूची रहेको छ ।
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संसद् सचिवालयले संयुक्त बैठकका लागि सबै सदस्यहरूलाई अपराह्न ३:४५ बजेभित्रै प्रतिनिधिसभा कक्षमा उपस्थित हुन अनुरोध गरेको छ ।
दिउँसो २ बजे सदनका छुट्टाछुट्टै बैठक
संयुक्त बैठकअघि आज दिउँसो २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन् । प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ भने सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदन, २०८३ पेस गर्ने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने सम्भावित कार्यसूची छ ।
विभिन्न अध्यादेशहरू पेस गरिने
आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने तयारी गरिएको छ ।
-
प्रधानमन्त्री वालेन्द्र शाह : सार्वजनिक खरिद (दोस्रो संशोधन), सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेशहरू
-
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले : सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश
-
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम : केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल : सहकारी (पहिलो संशोधन) अध्यादेश
-
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता : स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल : विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
यी सबै अध्यादेशहरू आजै बस्ने राष्ट्रियसभाको बैठकमा पनि पेस गरिने सचिवालयले जनाएको छ ।