दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले एकैपटक १५ उपग्रह कक्षमा पुर्‍यायो

एजेन्सी, २१ असाेज । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी रकेट ‘नुरी’ले बुधबार सफल उडान भर्दै एकैपटक १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्‍याएको छ। दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि यो उपलब्धिलाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

तीन चरणमा विभाजित तरल इन्धनबाट सञ्चालन हुने नुरी रकेट स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेर २५ मिनेटमा प्रक्षेपण गरिएको थियो। राजधानी सियोलबाट करिब ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोहुङस्थित नारो अन्तरिक्ष केन्द्रबाट रकेट प्रक्षेपण गरिएको हो।

प्रक्षेपणपछि नुरीको उडान निर्धारित योजनाअनुसार अघि बढेको थियो। पहिलो चरण सफलतापूर्वक अलग भएपछि बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुट्टिएका थिए। प्रक्षेपणको करिब १२ मिनेट ३० सेकेन्डपछि तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।

त्यसपछि करिब ५७५ किलोमिटर उचाइमा उपग्रहहरूलाई क्रमशः निर्धारित कक्षमा राख्ने प्रक्रिया सुरु गरिएको थियो। एउटै उडानबाट फरक समय र निश्चित क्रममा १५ वटा उपग्रह अलग गर्नुपर्ने भएकाले यो अभियानलाई नुरीको विकासक्रमकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियानमध्ये एक मानिएको छ।

राष्ट्रिय सुरक्षाका लागि पाँच मुख्य उपग्रह

अभियानको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षासँग सम्बन्धित पृथ्वी अवलोकन गर्ने पाँचवटा साना उपग्रहलाई अन्तरिक्षमा पुर्‍याउनु थियो। ती उपग्रहलाई करिब ३५ देखि ४० सेकेन्डको अन्तरालमा एक–एक गरी सफलतापूर्वक अलग गरिएको थियो।

यी उपग्रहले पृथ्वीको सतहको निगरानी तथा विभिन्न भौगोलिक गतिविधिको अध्ययनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मुख्य पाँच उपग्रहपछि थप १० वटा साना शैक्षिक तथा व्यावसायिक उपग्रह पनि अन्तरिक्षमा पठाइएको थियो। ती उपग्रहलाई दुई–दुईवटाको समूहमा करिब १० सेकेन्डको अन्तरालमा अलग गरिएको थियो।

अघिल्लो उडानभन्दा निकै जटिल

यसअघि नुरीको चौथो उडानमा एउटा मात्र मुख्य उपग्रह अन्तरिक्षमा पठाइएको थियो। तर यसपटक एउटै उडानबाट १५ वटा उपग्रहलाई निश्चित समय, क्रम र उचाइअनुसार कक्षमा पुर्‍याउनुपर्ने भएकाले अभियानको जटिलता उल्लेख्य रूपमा बढेको थियो।

अभियान पूरा भएपछि नुरीले अन्तरिक्षमा रहेका अन्य वस्तुसँग सम्भावित ठक्कर रोक्न आवश्यक केही प्रक्रिया पूरा गर्नेछ। त्यसपछि रकेट पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेछ र वायुमण्डलीय घर्षणका कारण जलेर नष्ट हुनेछ।

नुरीको सफल उडानले दक्षिण कोरियाको स्वदेशी अन्तरिक्ष प्रविधि विकास गर्ने क्षमता थप बलियो भएको देखाएको छ। यस सफलताले भविष्यमा अझ जटिल र महत्वाकांक्षी अन्तरिक्ष अभियान सञ्चालन गर्ने दक्षिण कोरियाको तयारीलाई समेत बल पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *