बिचौलियाको अन्त्य र किसानको हितका लागि पाँचखालमा साप्ताहिक कृषि हाटबजार सुरु
काठमाडौँ, जेठ १० । ‘पाँचखाल नगर, कृषि सहर’ को अवधारणालाई मूर्तरूप दिन पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय किसानका उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने र बिचौलियाको प्रभाव न्यून गर्ने उद्देश्यले प्रत्येक हप्ताको शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालन गर्न लागिएको हो ।
पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक व्यवस्थापन समितिको सह–आयोजना तथा पाँचखाल–४ वडा कार्यालयको समन्वयमा यो बजार सुरु गरिएको हो । पाँचखाल-४ का वडाध्यक्ष सुन्दर लामाका अनुसार पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
हाटबजार सञ्चालनमा आएपछि किसानले आफ्नो श्रमको उचित मूल्य पाउने र उपभोक्ताले पनि ताजा एवं सस्तो दरमा तरकारी लगायतका सामग्री प्राप्त गर्ने विश्वास गरिएको छ । बजारमा विशेषगरी प्राङ्गारिक (अग्र्यानिक) तरकारीको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिइएको छ । शुक्रबार र शनिबार सञ्चालन हुने यस बजारमा पहिलो सातादेखि नै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।
पाँचखालका नगरप्रमुख महेश खरेलले पाँचखालको तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको भ्रम चिर्न यो बजारले सहयोग पुर्याउने बताउनुभयो । “पाँचखालको तरकारीमा विषादी बढी छ भन्ने हल्ला गलत हो, हामीले केही वर्षदेखि ‘सेमी–अग्र्यानिक’ उत्पादनमा जोड दिँदै आएका छौँ,” प्रमुख खरेलले भन्नुभयो, “विषादीरहित कृषि उत्पादनलाई प्रवर्द्धन गर्न र किसानको उत्पादनको बजारीकरणमा टेवा पुर्याउन नगरपालिकाले यो कदम चालेको हो ।”
यसअघि, वैशाख अन्तिम साता नगरपालिकाले लभग्रीन नेपालसँगको सहकार्यमा दुईदिने बृहत् कृषि मेला आयोजना गरेको थियो, जसमा करिब २० हजारले अवलोकन गरेका थिए । उक्त मेलाको सफलतापछि नगरले नियमित रूपमा हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा यसअघि नै बनेपा नगरपालिकाले लायकु मञ्चमा र मण्डनदेउपुर नगरपालिकाले पर्यटकीय स्थल नगरकोटमा अग्र्यानिक कृषि हाटबजार सञ्चालन गर्दै आएका छन् । पाँचखालमा सुरु भएको यो नयाँ अभ्यासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै व्यावसायिक कृषिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।