ट्रेड युनियन अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली, बजेट श्रमिकमैत्री बनाउन जोड

काठमाडौँ, १४ जेठ । ट्रेड युनियन अधिकार कायम राख्न र आगामी आर्थिक वर्षको बजेट श्रमिकमैत्री बनाउन माग गर्दै राजधानी काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको आयोजनामा सोमबार मजदुरहरूले सडक प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट सुरु भएको श्रमिकहरूको उक्त र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले आफ्ना अधिकार कटौती गर्न नपाइने भन्दै प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले विशेषगरी ट्रेड युनियन खारेज गर्ने सरकारको पछिल्लो कदम र तयारीप्रति कडा विरोध जनाएका छन्। श्रमिकहरूको हकहित, सुरक्षा र आवाज उठाउने वैधानिक संस्थालाई नै खारेज गर्न खोजिएको भन्दै युनियनले सरकारलाई तत्काल त्यस्तो कदम सच्याउन चेतावनी दिएको छ।

यसका साथै, सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा मजदुर वर्गका मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न उनीहरूले ध्यानाकर्षण गराएका छन्। श्रमजीवी वर्गको हित संरक्षण हुने गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न युनियनले सरकारसँग जोडदार माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *