कृषकको सम्मान र संरक्षणलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएकाले कृषकहरूको सम्मान र संरक्षणलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ र किसानको प्रगतिमा देशको समृद्धि जोडिएको हुन्छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यसैले बदलिँदो सन्दर्भमा कृषकको सम्मान र श्रमको कदरलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ।” उहाँले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको बलियो आधारशीलाका रूपमा विकास गर्न श्रम संस्कृतिको प्रवद्र्धन आवश्यक रहेको औँल्याउनुभयो।
राष्ट्रपति पौडेलले राज्य, निजी क्षेत्र तथा सरोकारवाला निकाय एकताबद्ध भएर कृषि क्षेत्रमा लगानी, आधुनिक प्रविधि, बजारीकरण र युवा सहभागिता बढाउन ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। विदेशबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “युवा जनशक्तिलाई नेपालमै रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र कृषि नै हो। कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित योजनाहरू सञ्चालन गर्न जरुरी छ।”
मुलुकको सोह्रौँ आवधिक योजनाको लक्ष्य हासिल गर्न राज्यले कृषि क्षेत्रका समस्याहरूको पहिचान गरी ठोस समाधान निकाल्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो। यसका लागि सस्तो ब्याजदरमा कृषि कर्जाको उपलब्धता, समयमै उन्नत बीउबिजन तथा रासायनिक मलको आपूर्ति, आधुनिक कृषि औजारको व्यवस्था, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र कृषि उपजको सहज बजारीकरण राज्यको उच्च प्राथमिकतामा पर्नुपर्ने उहाँको सुझाव थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना उत्कृष्ट कृषकहरूलाई जनही दुई लाख रुपैयाँ नगद र प्रमाणपत्रसहित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्नुभएको थियो।