निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खारेज, नियमावली संशोधन स्वीकृत
काठमाडौँ, २६ जेठ । सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकारलाई नियमावलीमार्फत खारेज गरिदिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘निजामती सेवा नियमावली’ को १६ औँ संशोधन स्वीकृत गर्दै कर्मचारीहरूको ट्रेड युनियन अधिकार हटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को पछिल्लो बैठकले नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेको जानकारी दिए । सोही संशोधनसँगै अब निजामती सेवामा रहेका कर्मचारीहरूले ट्रेड युनियन सङ्गठन खोल्न र सोसम्बन्धी गतिविधि गर्न पाउने छैनन् ।
यसअघि सरकारले अध्यादेशमार्फत ट्रेड युनियन अधिकार खारेज गर्ने प्रयास गरेको थियो । तर, सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै खारेजीको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो । अदालतको अन्तरिम आदेशकै बीच सरकारले नियमावली संशोधन गरेर पुनः ट्रेड युनियन अधिकार कटौती गर्ने बाटो रोजेको हो ।
निजामती कर्मचारीहरूले भने सरकारको यो निर्णयको विरोध गर्दै आएका छन् । ट्रेड युनियन अधिकार लोकतन्त्रको सुन्दर पक्ष भएको र यसलाई नियमावलीमार्फत दबाउन खोज्नु न्यायसङ्गत नभएको कर्मचारी नेताहरूको दाबी छ ।