जी–७ शिखर सम्मेलन र फेरिँदो विश्व व्यवस्था: ‘जी-७ ले अब एक्लै संसार चलाउन सक्दैन’

एजेन्सी, ३१ जेठ । विश्व शक्ति सन्तुलन तीव्र रूपमा परिवर्तन भइरहेका बेला आगामी ५२औँ जी–७ शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको बलियो आधार निर्माण गर्न सक्ने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताउनुभएको छ।

फ्रान्सको इभियन–लेस–बेन्समा आगामी जुन १५ देखि १७ सम्म हुने सम्मेलनअघि डब्लिनस्थित ट्रिनिटी कलेजमा आयोजित विशेष अन्तरक्रियामा प्रधानमन्त्री कार्नीले बदलिँदो विश्व परिवेशमा बहुपक्षीय सहकार्य र उदीयमान राष्ट्रहरूको भूमिका अपरिहार्य बन्दै गएको धारणा राख्नुभएको हो।

यस वर्षको सुरुआतमा डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने धारणा राखेर चर्चामा आउनुभएका कार्नीले यसपटकको जी–७ सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको घेराभन्दा बाहिर फैलिएको उल्लेख गर्नुभयो।

विश्व शासनको बदलिँदो स्वरूपलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “यदि जी–७ ले कहिल्यै संसार चलाएको थियो भने पनि अहिले त्यो अवस्था छैन र अब त्यसको दाबी पनि गर्न सकिँदैन।”

असाधारण गतिमा बढिरहेका नयाँ चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चर्चा गर्दै उहाँले विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा पर्याप्त नियमनको अभाव रहेको औंल्याउनुभयो।

एआई प्रविधिको तीव्र विकासले बाल शोषण, साइबर हमला र डिजिटल पूर्वाधारमाथि खतरा बढाएको चेतावनी दिँदै प्रधानमन्त्री कार्नीले पर्याप्त सुरक्षा मापदण्डबिना शक्तिशाली एआई मोडेलहरू सार्वजनिक नगर्न र जिम्मेवार प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गर्न जोड दिनुभयो।

जी–७ समूहमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका तथा युरोपेली सङ्घ (इयु) रहेका छन्। यस वर्ष आयोजक फ्रान्सले भारत, युक्रेन, ब्राजिल, इजिप्ट, दक्षिण कोरिया, केन्या, कतार, साउदी अरेबिया, सिरिया र संयुक्त अरब इमिरेट्स लगायतका महत्त्वपूर्ण क्षेत्रीय शक्तिहरूलाई विशेष आमन्त्रित देशका रूपमा निमन्त्रणा गरेको छ।

यस वर्षको सम्मेलनका प्राथमिकताहरूमा विश्व आर्थिक अस्थिरता, अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार, ऊर्जा सुरक्षा, विश्व स्वास्थ्य, एआई नियमन तथा युक्रेन र मध्यपूर्वमा जारी भूराजनीतिक सङ्कटको समाधान रहेका छन्।