विश्वकपमा मोरक्कोको पुनरागमन जित, हैटी सम्मानजनक बिदाइ

काठमाडौं असार ११ । मोरक्कोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा हैटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४–२ को जित निकालेको छ। दुई पटक पछि परेको अवस्थाबाट खेलमा फर्किएको मोरक्कोले नकआउट चरणको यात्रा सुरक्षित गरेको हो।

एटलान्टा स्टेडियममा बुधबार सम्पन्न खेलमा हैटीले १०औँ मिनेटमै अग्रता बनाएको थियो। जाँ–केभिन डुभेर्नेको पासमा लेनी जोसेफको ब्याकहिल प्रयास मोरक्कोका गोलरक्षक यासिन बोनोमा लाग्दै गोलमा परिणत भएपछि हैटीले इतिहास रच्दै विश्वकपमा ५२ वर्षपछि पहिलो गोल गरेको थियो।

गोल खाएपछि आक्रामक बनेको मोरक्कोले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो। बिलाल एल खान्नुसको प्रहार गोलरक्षक जोनी प्लासिडले रोके पनि रिबाउन्डमा अच्राफ हाकिमीले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए।

तर हैटीले चार मिनेटपछि पुनः अग्रता लियो। विल्सन इसिडोरले टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि हैटी २–१ ले अगाडि बढ्यो। यद्यपि पहिलो हाफको इन्जुरी समयमा एजदिन साइबारीले गोल गर्दै मोरक्कोलाई २–२ को बराबरी दिलाए।

दोस्रो हाफमा मोरक्कोले खेलमाथि नियन्त्रण जमायो। ७८औँ मिनेटमा सौफियान रहिमीले गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा युवा खेलाडी गेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४–२ को महत्वपूर्ण जित हात पार्यो।

यस जितसँगै मोरक्कोले तीन खेलबाट सात अंक जोड्दै समूह ‘सी’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको छ। समूह विजेता ब्राजिल पनि सात अंकमै रहे पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो।

पराजित हैटी भने तीनै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ। यद्यपि विश्वकपमा ५० वर्षभन्दा बढी समयपछि सहभागिता जनाएको हैटीले दुई गोल गर्दै आफ्नो अभियानलाई सम्मानजनक रूपमा टुंग्याएको छ।

खेलमा एक गोल र एक असिस्ट गरेका मोरक्कोका कप्तान अच्राफ हाकिमी ‘प्लेयर अफ द म्याच’ घोषित भए।